al
Breaking News
recent

दशैंमा खशीको मूल्यमा अष्ट्रिच र ईमुको मासु

६ लाख किलो मासु तयारी अवस्थामा


२९ असोज, काठमाडौं । दशैंमा मासु खान नपाइएला भन्ने चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने निश्चिन्त हुनुहोस् । दशैंमा मासुको अभाव अष्ट्रियन चरा अष्ट्रिच र ईमुले पुरा गर्ने भएका छन् । त्यो पनि खशी बोकाको मासुकै भाउमा ।
भारतीय नाकाबन्दी र तराई बन्दले यस पटकको दशैंमा भारतबाट खशी बोका भित्रिएका छैनन् । जसले गर्दा राजधानी लगायत प्रमुख शहरहरुमा मासुको अभाव हुने देखिएको छ । तर, रुपन्देहीमा रहेको अष्ट्रिच नेपाल प्रालिले दशैंमा मासुको अभाव हुन नदिने स्पष्ट पारेको छ ।
‘दशैंका लागि झण्डै ६ लाख किलो मासु तयारी अवस्थामा रहेको छ’ कम्पनीका कार्यकारी निर्देशक सिपी शर्माले भने- ‘हामीले दशैंमा विशेष छुट दिएर खशी बोकाकै भाउमा अष्ट्रिच र ईमुको मासु उपलब्ध गराउँछौं ।’
अहिले अष्ट्रिच फार्ममा तीन हजार चराहरु काट्न मिल्ने अवस्थामा रहेको बताइएको छ । ‘अहिले दैनिक २ देखि ३ हजार किलो मासु बजारमा पठाइरहेका छौं’ शर्माले भने- ‘आवश्यक परेमा ६ लाख किलोसम्म मासु बजारमा पठाउन सक्ने अवस्थामा छौं ।’
नेपालमा ठूलो परिमाणमा खशी बोका भारतबाट आयात गरिन्छ । आपूर्ति घटेपछि खशी बोकाको मासुको भाउ बढ्ने व्यवसायी बताउँछन् । हिमाली जिल्लाबाट ल्याइने च्यांग्राको मूल्य गोठमै बढेको व्यवसायीको भनाई छ ।
यस्तो बेलामा अष्ट्रिच नेपालले दशैंमा मासु खानबाट कोही पनि बञ्चित नहोउन भनेर सहुलियत दरमा अष्ट्रिच र ईमुको मासु बिक्री गर्न लागेको हो ।
कति मूल्यमा पाइन्छ ?
अहिले ईमु चरा जिउँदो प्रतिकिलो ६ सय रुपैयाँ, होलबडी ड्रेसिङ प्रतिकेजी ८ सय रुपैयाँ र बजारमा खुद्रा ९ सय ९० रुपैयाँमा बिक्री हुँदै आएको छ । कार्यकारी निर्देशक शर्माले दशैंमा डिलरहरुले ईमुको मासु प्रतिकेजी सय रुपैयाँ कम मूल्यमा बिक्री गर्ने जानकारी दिए ।
उपभोक्ताले बजारमा ईमुको मासु प्रतिकिलो ८ सय ५० रुपैयाँमा खरिद गर्न पाउनेछन् । जिउँदो ईमु लैजानेलाई प्रतिकिलो ५ सय रुपैयाँमा उपलब्ध गराइरहेको शर्माले बताए ।
अष्ट्रिचको मासु तीन तहमा वर्गिकरण गरेर बिक्री हुँदै आएको छ । बजारमा अष्ट्रिचको टेन्डरलैन पार्ट प्रतिकेजी २५ सय रुपैयाँ, फल मासु १७ सय र हडि्ड भएको मासु ११ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।
डिलरहरुले अष्ट्रिचको मासु पनि किलोमा सय रुपैयाँ घटाएर बिक्री गरिरहेको शर्माले जानकारी दिए । यस पटक खशी, बोका तथा च्यांग्राको मासु प्रतिकेजी हजार रुपैयाँसम्म पर्ने अनुमान छ ।
Astrich Birds 2
हजार रुपैयाँभन्दा कम मूल्यमा ईमु र हजार रुपैयाँमा अष्ट्रिचको हड्डी भएको मासु खान पाइने छ ।
राजधानी र बुटवलमा भारी छुट
कम्पनीले काठमाडौंमा तीनवटा आउटलेट सञ्चालनमा ल्याएको छ । दशैंको अवसर पारेर शुक्रबारदेखि आउटलेटमा भारी छुट दिएको शर्माले बताए । आउटलेटमा अष्ट्रिचको टेन्डरलैन पार्ट प्रतिकेजी २ हजार रुपैयाँमा, फल मासु १५ सय र हड्डी सहितको मासु १ हजारमा पाइने छ ।
बुटवलको उद्योग वाणिज्य संघको परिसरमा लागेको दशैं बजारमा अष्ट्रिचको मासु उपलब्ध गराइएको छ । त्यहाँ मंगलबारदेखि नै काठमाडौंको आउटलेटमा पाइने मूल्यमा मासु बिक्री गरिरहेको शर्माले बताए । आउटलेट अष्टमीसम्म खुल्ने छ ।
अन्यत्र पनि सस्तोमा मासु उपलब्ध गराउन चाहे पनि आफ्नै आउटलेट नहुँदा नसकेको शर्माको भनाई छ । डिलरहरु नाफामुखी हुने हुँदा आउटलेटको भाउमा मासु उपलब्ध गराउन असम्भव भएको उनले सुनाए ।
कहाँ-कहाँ पाइन्छ ?
काठमाडौंमा कम्पनीले आफ्नै तीनवटा आउटलेट खोलेको छ । सामाखुशीको विगमार्ट नजिकै, महाराजगञ्जस्थित अमेरिकन एम्बेसी अगाडि र गोपीकृष्ण हलनेर कम्पनीका आउटलेट छन् ।
यसको अलवा भाटभटेनी लगायत अधिकांश सुपर मार्केट, हाइजिन मेन्टेन गरेका मासु पसलहरु गरी करिव २ सय ठाउँमा अष्ट्रिच तथा इमु चराको मासु पाइन्छ ।
कम्पनीले राजधानी लगायत देशका मूख्य शहरहरुमा डिलरमार्फत अष्ट्रिच तथा इमुको मासु बिक्री गर्दै आएको छ । यही असोज १८ गते पोखरामा सुपा देउराली गट प्रालिलाई एजेन्ट नियुक्त गरी त्यस क्षेत्रमा मासु उपलब्ध गराउन थालेको छ ।
शर्माका अनुसार सुपादेउरालीले पोखरा, बागलुङ, बेनी, पर्वत, स्याङ्जा गरी ३५ देखि ४० ठाउँमा अष्ट्रिच तथा ईमुको मासु उपलब्ध गराएको छ । दशैंको उपलक्ष्यमा यी ठाउँमा एमआरपी मूल्यमा सय रुपैयाँ घटाएर मासु बिक्री भइरहेको छ ।
नारायणगढमा पनि डिलरमार्फत अष्ट्रिचको मासु बिक्री भइरहेको छ । यहाँ पनि सय रुपैयाँ घटाएर मासु बिक्री गर्न आग्रह गरेको शर्माले बताए ।
कसरी पकाउने ?
अष्ट्रिचको मासु मूल्यअनुसार स्वाद पनि मिठो हुन्छ । तर, यसका लागि पकाउन भने जान्नुपर्छ । अष्ट्रिच पहिलो पटक खानेले पकाउन जानेन भने भिन्दै स्वाद नपाउने सम्भावना रहन्छ ।
पहिलो पटक खानेले सबैभन्दा पहिला अष्ट्रिचको मासु पातलो बनाएर काट्नुपर्छ । काटिसकेको मासुलाई सनफ्लावर वा भटमासको तेल हालेर ४/५ मिनेट भुट्नुपर्छ । मासुको भित्रसम्म नुनु पुर्‍याउन भुट्नु अगाडि नै नै हाल्नुपर्छ ।
EMU Birds
मासु भुटिसकेपछि सिलौटोमा पिसेको कालो मरिच राखेर चलाई उतार्नुपर्छ । मासु भुट्दा मासुमा भएको फ्याट एशिड नसुक्ने गरी भुट्नुपर्छ । धेरै भुट्यो भने एशिड उडेर मासु चाम्रो हुन्छ । यसरी विधी पुर्‍याएर पकायो भने अष्ट्रिचको रियल स्वाद पाइन्छ ।
खशीको जस्तै धेरै चिल्लो, मरमसला हालेर धेरैबेर पकाएमा वास्तविक स्वाद नपाइन पनि सक्छ । खशीमा फ्याट हुने हुँदा जति भुटेपछि पग्लिएर नरम हुन्छ, तर अष्ट्रिचमा एशिड हुने हुँदा धेरैबेर भुट्दा उडेर चाम्रो हुन्छ ।
ईमु र हड्डी भएको मासुर खशी बोकाको जसरी पकाउन सकिने शर्माले जानकारी दिए । धेरै पटक अष्ट्रिच खानेले स्वादअनुसार पकाउन सक्छन् । अष्ट्रिचको मासु फ्राइड, पकौडा, छोइला, कोचिला, मसलाको स्वादमा, मम जे पनि बनाएर खान सकिन्छ ।
फाइदा के ?
खशी बोकाको मासुमा भन्दा अष्ट्रिच र ईमुको मासुमा बढी पोषकतत्व रहेको हुँदा स्वस्थवर्द्धक रहेको कार्यकारी निर्देशक शर्माको दाबी छ । उनका अनुसार यसमा फ्याटको मात्र कम हुने हुँदा जो कसैले खान मिल्छ ।
अष्ट्रिचको मासुमा ओमगा ३, ओमेगा ६ र ओमगा ९ रहेको हुँदा मुटु रोगीलाई सबैभन्दा बढी राम्रो हुन्छ । रातो मासु खान नहुने रोगीलाई पनि अष्ट्रिचको मासु उपयुक्त मानिन्छ । अष्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बच्चाहरुका लागि उत्तम रहेको छ ।
जिउँदो ईमु बुकिङ
स्थानिय ग्राहकहरुले ईमु चरा जिउँदै बुकिङ गरिरहेको कार्यकारी निर्देशक शर्माले बताए । ‘दूई/तीन घर मिलेर जिउँदै इमु लैजाने र खशी बोकाजस्तै काटेर रमाइलो गर्नेहरु धेरै रहेका छन्’ शार्मले भने ।
सामान्यतया ईमु ४५ देखि ६० केजीसम्मको खान योग्य हुन्छ । दशैंमा ईमुको माग धेरै आएको बताउँदै शर्माले जिउँदो ईमु प्रतिकेजी ५ सय रुपैयाँका दरले उपलब्ध गराउने जानकारी गराए ।
ईमुको मासु खशी बोकाको भन्दा स्वादीलो र स्वास्थ्यलाई फाइदा जनक रहेको शर्माको दाबी छ । यसमा बोसो नहुने हुँदा सबै उपभोक्तालाई खान योग्य हुन्छ । ईमुको मासु छालासँग खान रुचाएको उनले बताए ।
२०० किलोसम्मका अष्ट्रिच
एउटा भाले अष्ट्रिच दुई क्वीन्टलसम्मको हुने गर्छ । तर, खानका लागि सय देखि १२५ केजीसम्मको योग्य हुने शर्माले बताए । ठूला भाले र पोथी अष्ट्रिच चल्लाको लागि पाल्ने गरिन्छ ।
Astrich Birds
एउटा अष्ट्रिचबाट ४० प्रतिशत मासु आउँछ । यसरी एउटा अष्ट्रिचको मूल्य १ लाखमाथि पर्ने शर्माको भनाई छ । चल्ला कोरलेको १ वर्षदेखि १४ महिनासम्म अष्ट्रिच खानयोग्य हुन्छ । त्यहाँभन्दा बढी पालेमा दाना पानीको नोक्सानी हुन्छ ।
सहज आपूर्ति गर्छौं
अष्ट्रिचको मासु जति महंगो छ, त्यति नै यसलाई काटेर बजारमा पठाउन अप्ठ्यारो छ । अष्ट्रिच काट्नका लागि अनुभवी मानिस चाहिन्छ । भूकम्प र तराई बन्दका कारण लखनाउबाट ल्याएका बुच्चर भागेपछि मासु काट्न समस्या भइरहेको शर्माले बताए ।
अहिले २४ घण्टा लगाएर २/३ टन मासु निकाली बजारमा पठाइरहेका छौं । आवश्यक परेमा ६ सय टन मासु निकाल्न सकिन्छ । तर, काटेर बजारमा पठाउन बुच्चरको अभाव छ । उनले जसरी भएपनि मासु काटेर बजारमा पठाई अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मासुको कटाई, प्याकेजिङ, स्टोरेज, ढुवानी लगायतमा विशेष ध्यान पुर्‍याउनुपर्छ । टेम्प्रेचर मेन्टेन गर्न नसकेमा मासु बिग्रिने डर हुन्छ ।
यस पटक खशी बोका कम भएको हुँदा मासु पसल चाँडै बन्द हुने सम्भावना छ । ‘अष्ट्रिचको मासुमात्र बिक्री गर्न पसल खोलेर कोही बस्दैन’ शर्माले भने- ‘त्यही भएर मासुको धेरै खपत हुने राजधानीमा तीनवटै स्टोर खोलेर मासु बिक्री गर्छौं ।
अष्टमीसम्म राजधानीका आउटलेटमा अष्ट्रिच र ईमुको मासु पाइने छ । तेलको अभाव भए पनि बुटवल, पोखरा, नारायणगढ लगायतका प्रमुख शहरमा जसरी पनि अष्ट्रिचको मासु पुर्‍याउने कम्पनीको भनाई छ ।
- Source: online Khabar
Online Khabar

Online Khabar

No comments:

Post a Comment

Powered by Blogger.